२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

विश्व सूचकांकमा नेपालको कमजोर उपस्थिति : नीतिगत दिशाहीनताले राज्य असफलतातर्फ नजाओस्

विश्व सूचकांकमा नेपालको कमजोर उपस्थिति : नीतिगत दिशाहीनताले राज्य असफलतातर्फ नजाओस्

गण्डकी टाइम्स
शनिवार, पौष २६ २०८२
गण्डकी टाइम्स
शनिवार, पौष २६ २०८२
  • युवराज बस्ताकोटी

    विश्वका विभिन्न अन्तर्राष्ट्रिय अध्ययन तथा सूचकांकहरूले सार्वजनिक गरेका पछिल्ला तथ्यांकहरूले नेपालको समग्र अवस्था सन्तोषजनक नरहेको स्पष्ट संकेत गरेका छन्। दिगो विकासदेखि मानव विकास, खुशी, प्रेस स्वतन्त्रता, शान्ति, आर्थिक स्वतन्त्रता र भ्रष्टाचार नियन्त्रणसम्मका सूचकहरूमा नेपालको स्थान विश्वस्तरमै कमजोर देखिनु गम्भीर चिन्ताको विषय बनेको छ। विश्व सूचकांक २०२५ अनुसार नेपाल दिगो विकास सूचकांकमा ९५औँ, विश्व खुशी सूचकांकमा ९२औँ, प्रेस स्वतन्त्रतामा ९०औँ, विश्व शान्ति सूचकांकमा ७६औँ, भोकमरी सूचकांकमा ७२औँ, जलवायु परिवर्तन जोखिममा ६९औँ, मानव विकास सूचकांकमा १४५औँ, आर्थिक स्वतन्त्रतामा १३९औँ र भ्रष्टाचार सूचकांकमा १०७औँ स्थानमा रहेको देखिन्छ। यी तथ्यांकले नेपालको अवस्था उत्साहजनक नभई गम्भीर आत्मसमीक्षाको माग गरिरहेको योजनाविद् तथा बौद्धिक युवा युवराज बस्ताकोटी बताउँछन्। उनका अनुसार यी सूचकांक कुनै विदेशी षड्यन्त्र वा कागजी खेल होइनन्, बरु राज्य सञ्चालन, नीति निर्माण र राजनीतिक चरित्रको ऐना हुन्। “नेपालको समस्या स्रोतको होइन, नीतिको हो।नेपालको संकट गरिबीको होइन, दिशाहीन नेतृत्वको हो," बस्ताकोटी भन्छन्। समस्या कहाँ छ ? राजनीति जनताको जीवन सहज बनाउने माध्यम हुनुपर्नेमा नेपालमा त्यो सत्ता कब्जाको साधन बनेको बस्ताकोटीको विश्लेषण छ। नीति विकास र समृद्धिका लागि बन्नुपर्ने हो, तर यहाँ नीति सत्ताको आयु लम्ब्याउन प्रयोग गरिएको उनी बताउँछन्। संघीयता सेवा सस्तो, नजिक र प्रभावकारी बनाउने उद्देश्यले लागू गरिएको भए पनि आज त्यो महँगो, बोझिलो र असक्षम संरचना मा परिणत भएको छ। अर्थतन्त्र उत्पादनमुखी हुनुपर्नेमा आयातमुखी बनाइयो। शिक्षा चेतना र सीप निर्माणको आधार हुनुपर्नेमा प्रमाणपत्र उत्पादन गर्ने उद्योग जस्तो बनेको छ। भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने राज्य संयन्त्र स्वयं त्यसलाई सामान्य संस्कार जस्तै स्वीकार गर्ने अवस्थामा पुगेको उनी टिप्पणी गर्छन्। यसैले सूचकांकमा नेपाल तल देखिएको उनको ठहर छ , किनकि नीति माथि छ, जनता तल छन्। ‘सुधार’ होइन, ‘नीतिगत मोड’ आवश्यक: बस्ताकोटीका अनुसार अब सामान्य सुधार, गोष्ठी, सम्मेलन र भाषणले नेपाललाई माथि उठाउन सक्दैन। अब नीतिगत मोड (Policy Departure) अपरिहार्य भइसकेको छ।उनको थप भनाइ छ अब हामीले सत्ताकेन्द्रित राजनीति होइन, नतिजामुखी शासन प्रणाली, उपभोगमुखी अर्थतन्त्र होइन, उत्पादनमुखी विकास मोडल, खर्चिलो संघीयता होइन, किफायती र सक्षम राज्य संरचना, भाषणमुखी सुशासन होइन, कडाइका साथ कार्यान्वयन गर्नुपर्नेछ । “नीति नबदली अनुहार बदल्नुको कुनै अर्थ हुँदैन,” उनले जोड दिए। चेतावनी हो, अपमान होइन: विश्व सूचकांकहरूले नेपाललाई अपमान गरेका होइनन्, बरु अझै समय बाँकी छ भन्ने चेतावनी दिएका हुन्। तर त्यो चेतावनीलाई बेवास्ता गर्दै सत्ता, कुर्सी र भागबन्डामै अल्झिरहने हो भने नेपालको स्थान सूचकांकमा मात्र होइन, इतिहासमै तल झर्ने खतरा रहेको बस्ताकोटी चेतावनी दिन्छन्। अन्त्यमा उनी भन्छन्, “अब प्रश्न स्पष्ट छ, नीति बदल्ने कि भविष्य गुमाउने ?”

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij