जापान । पूर्वीजापानको कान्टो क्षेत्रमा आँधीपछि आएको भारी वर्षाका कारण पहिरो र बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ भने तीनजना अझै बेपत्ता छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा टोकियोको पूर्वमा रहेको चिबा प्रिफेक्चरका सातजना र राजधानीको दक्षिणपश्चिममा रहेको कानागावा प्रिफेक्चरका चारजना छन् । जापानको सार्वजनिक प्रसारण संस्था एनएचकेका अनुसार कानागावाको योकोसुकामा पहिरोपछि बेपत्ता भएकी ७० वर्षीया महिलाको शव हालै फेला परेको छ ।
प्रहरी र अग्नि नियन्त्रकहरूले बेपत्ता व्यक्तिहरूको खोजी जारी राखेका छन् । सोमबार जापानको पूर्वी प्रशान्त तटमा पुगेको ‘डुजुआन’ आँधीले कान्टो क्षेत्र र इजु टापुमा भारी वर्षा गराएको थियो । वर्षाका कारण पहिरो र नदीमा बाढी आउनुका साथै टोकियो आसपासका क्षेत्रमा, विशेषगरी चिबा प्रिफेक्चरमा ठूलो क्षति पुगेको छ ।