प्रधानमन्त्रीज्यु, तपाइँलाई जानकारी नगराउनेलाई घोक्रेठ्याक लाउनु पर्दैन ?
प्रधानमन्त्रीज्यु, तपाइँलाई जानकारी नगराउनेलाई घोक्रेठ्याक लाउनु पर्दैन ?
गण्डकी टाइम्स
गण्डकी टाइम्स
तिर्थ सुवेदी
१४ बर्षको कठोर यातना सहितको जेल जीवन विताउनु भएका तपाईं सत्तामा वा प्रतिपक्षमा बस्दा पनि देशको राजनितीमा तपाईकाे ठुलो भुमिका छ । म जस्तै तपाईंका लाखौं समर्थक नेपालमा छन् । समर्थकका नाताले केही सुझाव सहितका शब्द खर्चने काेसिस गरेको छु।
पहिलो पार्टी बनाएर नेकपालाई यहासम्म पुर्याउन तपाईंले जुन भुमिका खेल्नु भो त्यो सराहनिय नै छ। पहिलो चोटि प्रधानमन्त्री हुंदा तपाईंले देश र जनताका लागि अझ विशेष गरि युवा पिंढीका लागि जुन सपना देखाउनुभो, राजनिति प्रति वितृष्णा पैदा हुन लागिसकेका हामी जस्ता लाखौंलाख युवा तपाईंका समर्थक भएका हौं र भईरहेका पनि छौं। नेकपाकै चुनाव चिन्हमा भाेट हाल्ने ब्यक्ति भएर नै होला तपाईंप्रति र पार्टीप्रति आक्रमण भईरहंदा सारै चित्त दुख्ने रहेछ र त्यसको मुकाविला पनि साधन र स्रोतले भ्याएसम्म गरि नै रहेको छु।
भुकम्प र नाकाबन्दीले थिलथिलो बनाएको मुलुकलाई माथि उठाउन तपाईं र पाटीले जुन प्रयत्न गर्याे त्यसको सबैले खुलेर प्रशंसा नै गरेका छन्। बिबिध कारणवस त्यो सरकार ९ महिना भन्दा बढी टिक्न सकेन, त्यसमा आफैं भित्रका साथीहरुको पनि तपाईंलाई राम्रो साथ थिएन वा के थियो त्याे बेलाको परिस्थिति बाेल्ला।
मनमोहन अधिकारीको सरकार पनि ९ महिना भन्दा बढी टिक्न दिएका थिएनन्। आजलाई हैन भोलिलाई, अबको ५ बर्ष केपी ओलीलाई भनेर हामीले सडकमा नारा लगाएकै हो, स्थिर र बलियो सरकारका लागि नेकपालाई भोट मागेकै हो। त्यसै अनुसार तपाईं फेरि प्रधानमन्त्री बन्नु भएको छ यो हामीलाई धेरै खुशिको कुरा हो। किनकि रोकिएका सपनाहरु अब ब्युंझनेछन् र स्थिर सरकारले मुलुकलाई कायापलट नै गर्नेछ भन्ने हामीलाई ठूलो आशा र भरोसा थियो र अझै पनि छ।
स्वास्थ्यले बारम्बार धोका दिंदा पनि तपाईंमा भएको आत्मवल सारा नेपालीले सायदै प्रशंसा गरेका छन्। विरोधीहरुको लगातार विरोध र आरोपहरुलाई एउटै बोलीले मित्थ्या प्रमाणित गरिदिन सक्ने तपाईंको आत्मविश्वासको जति वयान गर्दा पनि कमै हुन्छ। देश ठूलो सानो हुन सक्छ तर जनताको स्वाभिमान कहिल्यै कम बढी हुन सक्दैन भनेर देश बिदेशका सेमिनारहरुमा समेत प्रष्ट रुपमा राखेर `समृध्द नेपाल र सुखी नेपाली´ को लक्ष्यलाई आत्मसाथ गर्दै अघि बढ्नुभएको तपाईलाई कोटिकोटि सलाम छ। बिकास निर्माण तथा हरेक क्षेत्रमा केही न केही परिवर्तन पक्का भएको छ।
तर अझै पनि प्रधानमन्त्रीज्यु तपाईं पार्टी अध्यक्ष पनि भएकाले थप यी कुराहरु पनि हेक्का हुनपर्छ भनी ध्यानाकर्षण गराउन चाहान्छु।
१. साना तिना कुरालाई पनि ठूलो बनाएर मिडिया बाजि गर्नेहरुले सरकारलाई चारैतिर बाट आक्रमण गरिरहेका छन्, यसमा नेकपा निकट भएर काम गरेका मिडियाहरुले समेत ब्यक्ति वा गुट हेरेर खुईल्याउने रणनिति अघि सारेका छन्, यस्तो किन भईरहेको छ ? सत्यतथ्य छानविन गरि कानुनी कारवाहीमा ल्याउन पार्टी वा सरकारले किन सक्दैन ?
२. माओवादी केन्द्रसंगको एकीकरण प्रकृया यैलेसम्म पनि टुंगोमा नपुग्नु हाम्रा लागि मात्र हैन स्वयं पार्टीका लागि समेत हानिकारक हुने देखिंदैछ, जसले गर्दा सरकार सञ्चालनमा समेत समन्वय को कमी भएको मैले महशुश गरेको छु। एकीकरण प्रकृया छिटो टुंगोमा पुर्याउन कसले रोक्यो ?
३. पार्टीको खोल ओढेर चाहे ठेक्कापट्टाको नाममा होस् चाहे ट्रेड युनियनको नाममा, विभिन्न धन्दा गर्न पल्केकाहरुले पार्टीको साख गिराउंदैछन् । यस्ता ठेकेदारहरुलाई तुरुन्त बर्खास्त किन गरिंदैन ? पार्टीको केन्द्रीय कमिटीको बैठक कहिले बस्छ ? पार्टीका नेता जनताका सेवक हुनुपर्ने हैन ? राजनितीलाई किन पेशा बनाउंदैछन् ?
४. प्रधानमन्त्री ले कार्यसम्पादन मुल्याङ्कनका आधारमा मन्त्रीहरु परिवर्तन गर्ने रणनिति अघि सार्दा खुशी भईरहेको म जस्तो मान्छे परिवर्तित अनुहार कसको दबाब मा फेरिए ?
५. सरकारले ल्याएको समाजिक सुरक्षा योजना कति कार्यान्वयन भयो यसमा चासो राखेको पाईएन । `भ्रष्टाचार गर्दिन र गर्न दिन्न´ भन्ने तपाईको स्लोगन सही छ तर कसैलाई भ्रष्टाचार गरेको आरोप लाग्छ, आरोप बारे छानबिन भईरहेको समयमा प्रधानमन्त्री आफैं मिडियामा उसले भ्रष्टाचार गरेको छैन भनेर बोल्नु कतिको नैतिकता भित्र पर्छ ? भलै भ्रष्टाचार प्रमाणित भएन भने पनि छानविन गर्ने निकाय प्रधानमन्त्रीको प्रभावमा परे भनेर अरुले आरोप लाउंदा के भन्ने नि ?
६. हाम्रा प्रधानमन्त्री कार्यकारी हुन्, देशमा कुन मन्त्रालयबाट के भईरहेको छ त्यो सबै प्रधानमन्त्री लाई जानकारी हुन्छ भन्ने कुरामा हामी बिश्वस्त छौं तर कुनै ईश्युमा कुरा उठ्दा मलाई त जानकारी नै थिएन भनेर प्रमले पन्छिन मिल्छ ? जानकारी थिएन भने जानकारी नगराउनेलाइ घोक्रेठ्याक लाउन पर्दैन ?
७. श्रम ऐन कानुन र सामाजिक सुरक्षा ऐन सरकार, रोजगारदाता र ट्रेड युनियन बिचको सहमतिबाट आएको हो भने कुनै एकपक्षलाई यो मान्दिन भन्ने छुट छ ? छुट छैन भने सरकार र ट्रेड युनियनले मान्ने, नमान्ने रोजगारदातालाई अविलम्ब कारबाही गर्न पर्दैन ?
तपाईंलाई सायद महशुश नै भएको हुनुपर्छ।तपाइको सचिवालयमा बसेका वा तपाईंले बिश्वास गरेकैबाट तपाइंमाथि धोका भईरहेको छ भन्ने मैले बुझेको छु। यस्ता बिश्वासघातीहरुको पहिचान गरि तुरुन्त टिम परिवर्तन गर्न किन ढिलासुस्ती ?
८. पार्टीको आचारसंहिता पालना गर्ने कसले हो ? गुटको आधारमा जथाभावी बोल्दै हिंड्न पाईने हो ? पालना नगरेकालाई के भन्नुहुन्छ ? पार्टी भित्र डनवाद र धनवाद हावी हुन नदिन के गर्दै हुनुहुन्छ ?
९. प्रधानमन्त्री राहतकोषमा कति रकम जम्मा भएको छ सार्वजनिक गर्न पर्दैन ?
यी माथिका बुंदाहरु ब्यबहारिक रुपमै कार्यान्वयन गर्नुहुन्छ भन्ने मैले बिश्वास लिएको छु। यैले कोरोनाको महामारी बाट बच्न हामी सबै लकडाउनमा बसेका छौं।यो देश भित्रको मात्र समस्या नभएर अन्तरराष्ट्रिय समस्या हो भन्ने पनि हामी सबैलाई थाहा छ ।
कोरोनाको त्रास देखाएर विभिन्न ब्यबसाय गर्ने ब्यबसायीहरु अनेक किसिमका राहत चाहियो भनेर दिनरात तपाईको सम्पर्कमा आईरहेका छन् र सरकारले केही छुट समेत घोषणा गरिसकेको छ, संगसंगै श्रमिक पनि छन् भन्ने कुराको हेक्का राख्नुहोस्। श्रमिकहरुलाई ती ब्यबसायीहरुले के हालतमा राखेका छन् त्यो पनि बुझ्नोस्। ब्यबसायीहरुले चैं श्रमिकहरुलाई राहत दिन पर्दैन ?
हिजो ११ महिनासम्म कर छलिछलि टन्न कमाउंदा श्रमिकलाई बोनस समेत नखुवाउने र राज्यको कानुन समेत नमान्नेहरुले राज्यसंग छुट मागेको पटक्कै सुहाउंदैन प्रमज्यु। तिनै ब्यबसायीहरुले दिएको सहयोगबाट सांसद, मन्त्री बनेकाहरुलाई पक्का गारो छ, ब्यबसायीहरुबाट टाढिन, पटकपटक उहांहरुलाई नै भेट्नुस्, कुरा सुन्नुस् तर हामी जस्ता श्रमिकहरुलाई नबिर्सनुुस्।
हिजो ब्यबस्था परिवर्तनको लंडाईको अग्रमोर्चामा, भोट माग्ने र जिताउने मोर्चामा भोटर भएर मात्र हैन तपाईं ब्यबसायीहरुसंग बस्ने मिटिङ्, सेमिनारमा समेत मजदुरले नै दानापानीको सेवा गरिरहेको नभुल्नु है ! हाम्रो स्थान खै..???
प्रतिक्रिया