काठमाडौं, १८ वैशाख। कोरोना विरुद्धको लडाका लागि अमेरिकाले नेपाललाई सहयोग गर्ने घोषणा गरेको छ । संयुक्त राज्य अमेरिकाले कोभिड-१९ विरुद्धको लडाइमा आफू नेपालसँगै उभिएको बताउँदै सहयोग गर्ने घोषणा गरेको हो ।
आफूले वितरण गर्ने भनेको कोरोनाविरुद्धको खोपको आपूर्तिमा नेपाललाई प्राथमिकतामा राख्ने प्रतिबद्धता समेत अमेरिकाले व्यक्त गरेको छ ।
काठमाडौंस्थित अमेरिकी दूतावासकी प्रवक्ता अन्ना रिचे एलेनका अनुसार राष्ट्रसंघको खोप आपूर्ति कार्यक्रम कोभ्याक्समा अमेरिकाले २ बिलियन डलरको प्रतिबद्धता जनाएको हो । उनले थप २ बिलियन डलर सहयोग हुन लागेको समेत बताइन ।
‘संयुक्त राज्य अमेरिका कोरोनाभाइरसबाट अहिलेसम्म सबैभन्दा बढी प्रभावित हुने थलो बनेको छ’ प्रवक्ता एलेनले भनिन्, ‘हामी नेपालसँग सहानुभूति राख्छौं ।’ उपलब्ध हुने वित्तिकै अमेरिकाले अस्टाजेनेका खोप वितरण सुरु गर्ने समेत उनको भनाई छ ।
अमेरिकासँग अस्ट्राजेनेका खोप भण्डारण भएको जानकारी बाहिर आएपछि परराष्ट्र मन्त्रालयले पनि खोप उपलब्ध गराउन माग गर्दै प्रक्रिया सुरु गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन ।
अमेरिकाले यसबीच नेपाललार्ई कोरोनाभाइरसविरुद्धको लागि थप ८५ लाख अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । अमेरिकी दूतावासले शुक्रबार विज्ञप्ती जारी गर्दै सहयोग नियोगमार्फत रकम उपलब्ध गराउने घोषणा गरेको हो ।
विज्ञप्तीमा भनिएको छ, ‘कोरोना परीक्षण, संक्रमित पहिचान, केसको अनुसन्धान, उपचार, संक्रमण रोकथाम र नियन्त्रण, सीमा नियन्त्रण र अन्य संघीय, प्रादेशिक र स्थानीय तहका लागि सहयोग गर्न लागेका हौं’