काठमाडौ, ८ कात्तिक । अमेरिकाले अनुदानमा उपलब्ध गराएको एक लाख बढी डोज कोरोना खोप नेपाल आइपुगेको छ ।
कोभ्याक्स सुविधा अन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) मार्फत उपलब्ध गराइएको फाइजर खोप आज बिहान कतार एअरवेजको विमानमार्फत् काठमाडौं आइपुगेको हो ।
फाइजर खोप नेपाल आएको यो पहिलो पटक हो । यसअघि नेपालमा अस्ट्राजेनेका, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप प्रयोगमा आइसकेका छन् ।
अमेरिकाले यसअघि जुलाईमा जोनसन एन्ड जोनसनको १० लाख ५३ हजार डोज खोप सहयोग स्वरुप उपलब्ध गराएको थियो ।
फाइजर नेपालमा प्रयोग हुने चौथो खोप हुनेछ । नेपालमा यसअघि अस्ट्राजेनेका, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप प्रयोगमा आइसकेका छन् ।
अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोएन्टेकले संयुक्त रुपमा निर्माण गरेको फाइजर खोप १२ वर्षभन्दा माथिका उमेर समूहमा प्रभावकारी हुने अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलले जनाएको छ ।
एक महिनाको अवधिमा दुई डोज लगाउनुपर्ने यो खोप ९५ प्रतिशत प्रभावकारी रहेको अनुसन्धानबाट पुष्टि भएको छ ।