राम दंगाल अध्यक्ष, एमाले खोटाङ
भवनगैरा आफैं विचित्रको ठाउँ हो । भवनगैराले लोभीपापीलाई उँभो लगाउन छाडेको छैन । पंक्तिकार सात वर्ष दिक्तेल बसेका थिए । सात वर्षको बसाइमा दिक्तेलले धेर–थोर दिक्क बनाएकै थियो । भवनगैरा टेक्ने दिक्तेल बजारका जोकोहीको प्रगति कहाँबाट कहाँ पुगिहाल्छ । स्वाभाविकै हो– भवनगैरानजिक जिल्ला समन्वय समिति, जिल्ला प्रशासन, दिक्तेल रूपाकोट मझुवागढी नगर कार्यपालिका, मालपोत, जिल्ला शिक्षा समन्वय, जिल्ला कृषि विकास कार्यालयलगायत छन् । त्यहाँको व्यवसायी फस्टाउन यति कार्यालय पुगेकालाई सहयोग गर्दा चिया, खाजा र खाना खर्चमात्रै होइन, अन्य शुभलाभ गर्न पछि पर्दैनन् । कामविशेषले जिल्लाका विभिन्न ठाउँबाट दिक्तेल पुगेपछि कर्मचारीलगायतलाई चिया, खाजा र अन्य शुभलाभको ‘अफर’ आउने भइहाल्यो । त्यतिमात्रै होइन, दिने र लिनेबीच सहमति भएपछि टेबलमुनि कारोबार गर्न कुनै आइतबार कुर्नै पर्दैन । माछाले पानी र कर्मचारीले घुस कति बेला खान्छन्, भेउ पाउन कठिन हुन्छ । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको दाम्लीमा दाम्ली माध्यमिक विद्यालयको चारकोठे सिमेन्टेड भवन बन्यो । यो संवत् २०७४ पहिलेको कुरा हो । बजेट साबिक जिल्ला शिक्षा कार्यालय खोटाङबाट प्राप्त भएको स्थानीय बताउँछन् । कागजात मिलाएर विद्यालय भवन सम्पन्न भएको भन्दै तत्कालीन वडाध्यक्ष हरिकुमार खड्काले बजेट निकाले । आठ वर्ष बितिसक्दा पनि विद्यालय भवन लथालिंग छ । विद्यालयका पूर्वप्रधानाध्यापक गमराज राईलाई पटक–पटक विद्यालय भवनको ‘स्टिमेट’ र निकासा रकमबारे जानकारी माग्दा वास्तविकता बताउन आनाकानी गर्छन् । सार्वजनिक चासोको विषयबारे वास्तविकता लुकाउन मिल्छ ? सम्भवतः यो काम गर्ने/गराउने एमाले, कांग्रेस र माओवादी केन्द्र खोटाङसम्बद्ध नेता तथा कार्यकर्ता दोषी छन् । उल्लिखित पार्टीसम्बद्ध नेताले समेत लथालिंग विद्यालय भवनबारे वास्ता नगर्नु भनेको ‘दालमा कुछ काला है’ भनेर अड्कलबाजी गर्न सजिलै सकिन्छ । ०७४ को निर्वाचनमा माओवादी केन्द्रसँगको गठबन्धनमा विशाल भट्टराईले खोटाङबाट एमाले सांसद बन्ने शौभाग्य पाए । त्यतिबेला हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका वडाध्यक्ष उनकै पार्टी कार्यकर्ता खड्का थिए । त्यतिबेला पूर्ववडाध्यक्ष खड्काले दाम्ली मावि भवन सम्पन्न गर्न किन सकेनन् ? वडादेखि संघीय सांसदसमेत एमालेकै थियो । काम गर्न त्योभन्दा सुविधा कहिले पाइएला ? एउटै पार्टीमा रहे पनि एकलाई छिर्के लगाएर अर्कोले अघि बढ्नैपर्छ । त्यसो नगरी राजनीति राजनीतिजस्तो हुँदैन । एमाले खोटाङमा देखिनेगरी त्यस्ता छिर्के लगाइएकै छन् । लगाउने क्रम जारी छ । एमाले खोटाङ अध्यक्ष राम दंगालले प्रदेश सांसद सदस्यमा पराजित हुनु भनेको पूर्वसांसद विशाल भट्टराईकै चालबाजी हो भनेर एमाले खोटाङलाई थाहा हुँदाहुँदै पनि मुखमा पानी हालेर बसेको थुप्रै भयो । प्रदेशसभा सदस्यका उम्मेदवार राम दंगाललाई घात गर्दा पूर्वसांसद भट्टराईले राख्नैपरेको छ– पुर्पुरोमा हात ।