२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

स्पेनिस फुटबल प्रमुखको आरोप: ‘फिफाले विश्वकपका नाममा फुटबल उद्योग ध्वस्त पार्दैछ’

स्पेनिस फुटबल प्रमुखको आरोप: ‘फिफाले विश्वकपका नाममा फुटबल उद्योग ध्वस्त पार्दैछ’

गण्डकी टाइम्स
मंगलवार, श्रावण ५ २०८३
गण्डकी टाइम्स
मंगलवार, श्रावण ५ २०८३
  • काठमाडौं, ५ साउन । स्पेनको शीर्ष फुटबल लिग ला लिगाका अध्यक्ष जाभियर टेबासले विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकपलाई अनावश्यक रूपमा विस्तार गरेर विश्व फुटबल उद्योगलाई नै संकटमा पारिरहेको आरोप लगाएका छन्। इटालीको खेलकुद दैनिक ला गाजेट्टा डेल्लो स्पोर्टसँगको अन्तर्वार्तामा टेबासले फिफा अध्यक्ष जियानी इन्फान्टिनोको नेतृत्वको कडा आलोचना गर्दै उनको समय अब सकिएको टिप्पणी गरेका हुन्।

    टेबासले सन् २०३० को फिफा विश्वकपमा सहभागी टोलीको संख्या ६४ पुर्‍याउने विषयमा भइरहेको छलफलप्रति असन्तुष्टि जनाउँदै यस्तो निर्णयले घरेलु फुटबललाई गम्भीर क्षति पुग्ने बताएका छन्।

    उनले भने, "फुटबल उद्योग केवल विश्वकपमा सीमित छैन। ४० दिन चल्ने एउटा प्रतियोगिताका लागि वर्षभर सञ्चालन हुने घरेलु लिग, क्लब र त्यससँग जोडिएका हजारौँ रोजगारीलाई जोखिममा पार्नु उचित होइन।"

    टेबासका अनुसार विश्वभरका घरेलु लिग र क्लबहरू नै फुटबलको वास्तविक आधार हुन्। तर फिफाले लगातार अन्तर्राष्ट्रिय प्रतियोगिताको आकार बढाउँदा खेल तालिका अत्यधिक व्यस्त बन्दै गएको, खेलाडीमाथि थप भार परेको र क्लब फुटबल कमजोर हुने खतरा बढेको उनले बताए।

    उनले राष्ट्रिय टोलीको संख्या बढाउनुको सट्टा घरेलु फुटबललाई संरक्षण गर्नुपर्नेमा जोड दिँदै भने, "हामीलाई अझ धेरै राष्ट्रिय टोली होइन, सबै तहको घरेलु फुटबलको राम्रो संरक्षण चाहिएको छ। फिफाले गैरजिम्मेवार ढंगले निर्णय गरिरहेको छ।"

    सन् २०३० को विश्वकप मुख्य रूपमा स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त रूपमा आयोजना गर्नेछन् भने प्रतियोगिताको शताब्दी संस्करणको अवसरमा उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा पनि केही खेल हुने तय भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij